
झापा, १५ बैशाख । नेपाल प्रहरीले महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न स्थानमा लुटपाटमा संलग्न गिरोहलाई आवश्यक सामग्रीसहित नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुकी १९ वर्षीय रितिका माझी रहेका छन् ।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत चैत १२, १९ र बैशाख ६ गते विभिन्न स्थानमा सुन लुटपाट गरेको घटनाको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकासँग १२।९० ग्राम सुन, पेचकस, विभिन्न रेन्ची, मोबाइल, खुकुरी, हुडी, ट्राउजर, ज्याकेट लगायतका सामग्री बरामद गरेको छ ।



