
धरान, २४ बैशाख । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
पहिले सुनसान जङ्गल रहेको क्षेत्र श्रमदानमार्फत विकास भएपछि अहिले लोकप्रिय पर्यटन गन्तव्य बनेको हो। विशेषगरी पानीको फोहरा, फूलबारी, चौतारा र हरियालीले पर्यटकलाई लोभ्याइरहेका छन्।
पार्कभित्र स्थानीय जनजीवन झल्काउने प्रतिमा, किरात संस्कृतिसँग सम्बन्धित संरचना, गोर्खा चौतारी, ज्येष्ठ नागरिक पार्क, चिल्ड्रेन पार्कलगायत दर्जनौँ आकर्षण थपिएका छन्।
पार्क बनेपछि आसपासमा होटल–खाजा पसलको सङ्ख्या बढेको छ भने दैनिक सयौँदेखि हजारौँ पर्यटक आउने गरेका छन्। बिदामा पाँच हजारसम्म आगन्तुक भित्रिने गरेको पार्क संरक्षण समितिले जनाएको छ।
हाल पार्कमा २५–२८ जनाले रोजगारी पाएका छन्। बर्खायाममा बाढीले क्षति पुर्याउने समस्या रहे पनि थप पूर्वाधार विकास हुँदैछ। प्रदेश सरकारको सहयोगमा सडक कालोपत्र भएपछि पर्यटकलाई आवतजावत सहज भएको छ।
यसलाई अझ आकर्षक बनाउन थप संरचना निर्माण भइरहेको छ, जसले धरानलाई पर्यटन गन्तव्यको रूपमा स्थापित गरिरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



