
बिर्तामोड, २५ वैशाख । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरूले चलचित्र, पर्यटन र पत्रकारिताको त्रिकोणात्मक सम्बन्ध रहेको बताएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको आयोजनामा र चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा भएको ‘चलचित्र, पर्यटन र पत्रकारिता विषयक अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरूले त्यस्तो बताएका हुन् । सहभागीहरूले पर्यटन प्रवद्र्धनका लागि चलचित्रको भूमिका महत्वपूर्ण हुनुका साथै पत्रकारिता क्षेत्रको भूमिका समेत विशेष रहने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले चलचित्रको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुगेको बताउनुभयो । नेपाली चलचित्रलाई अन्य विभिन्न भाषामा समेत निर्माण गर्न सके चलचित्रसँगै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा थप मद्दत मिल्ने धारणा राख्नुभयो ।
सरकारले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन नीतिलाई समय अनुकूल परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कृषि, पर्यटन, जलस्रोत र प्रविधिको माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सकिने उहाँको भनाइ छ ।
कार्यक्रमका विशेष अतिथि चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश इञ्चार्ज नरेन्द्र बस्नेतले चलचित्र पत्रकार संघमा आबद्ध पत्रकारहरूले चलचित्रको मात्र समाचार लेख्ने भन्ने कुरा नरहेको स्पष्ट पार्नुभयो ।
समग्र क्षेत्रमा कलम चलाउने साझा संस्थाका रूपमा चलचित्र पत्रकार संघ रहेको उहाँले बताउनुभयो । “सबै भाषा, कला, साहित्य, संस्कृतिसँगै समग्र समाजको आवाज चलचित्र पत्रकार संघले मुखरित गर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले पछिल्लो समय चलचित्रको क्षेत्र व्यापक बन्दै गएको बताउनुभयो । चलचित्र, पर्यटन र पत्रकारिताबीच नङ र मासुको सम्बन्ध रहेको बताउनुहुँदै उहाँले पछिल्लो समय विभिन्न जातीय चलचित्रले समेत पर्यटन, भाषा, संस्कार, संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो ।
नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सचिव युवराज गिरीले चलचित्रको विकासमा राज्यको नीति समेत बाधक भएको बताउनुभयो । विदेशी चलचित्रहरूमा देखाइएका दृश्यहरू निर्वाध रुपमा नेपाली सिनेमा घरहरूमा देखाइँदा सेन्सर नलाग्ने र सोही दृश्यहरू नेपाली चलचित्रमा समावेश गरिँदा सेन्सर लाग्ने गुनासो पोख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले नेपाली समाज रूपान्तरणमा चलचित्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । घुम्ने कुरा मात्र पर्यटन नभई पर्यटन क्षेत्रले व्यापक अर्थ र महत्व बोकेको उहाँले बताउनुभयो ।
नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेलले नेपालमा हाल चलचित्र क्षेत्रको कारोबार करिब दुई अर्ब २० करोडको रहेको बताउनुहुँदै त्यसको करिब ५३ प्रतिशत हिस्सा नेपाली चलचित्रले ओगटेको बताउनुभयो ।
पर्यटन प्रवद्र्धनमा चलचित्रको भूमिका उल्लेख्य रहे पनि नेपालमा निर्माण हुने ९० प्रतिशत चलचित्रले लगानी उठाउन नसक्ने अवस्था रहेको बताउनुभयो । “नेपाली चलचित्रहरूले नयाँपन दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका अध्यक्ष देवीभक्त श्रेष्ठले पर्यटन क्षेत्रलाई थप परिस्कृत गर्नुपर्नेमा जोड दिँदै पत्रकारिताको माध्यमबाट पर्यटन चलचित्रलाई प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।
पर्यटन पत्रकार मञ्चका अध्यक्ष बिनोद पाण्डेले चलचित्र पत्रकारहरूले चलचित्र र पर्यटनको क्षेत्रमा थप सशक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विरता जेसीसका अध्यक्ष एलसी श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल इलामका अध्यक्ष अतित योङहाङ र सुनसरी अध्यक्ष सुभाष संकल्प श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले प्रकाशित गरेको भित्तेपात्रो सार्वजनिक गरिएको कार्यक्रममा संघको कोशी प्रदेशको कार्यसमितिको सदस्यमा मनोनित हुनुभएका पत्रकारद्वय सुनिरा मैनाली र शिव भट्टराई प्रमाणपत्र प्रदान गरिएको थियो ।
संघका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको समापन संघका कोशी प्रदेश अध्यक्ष वीरेन्द्रकुमार शाहले गर्नुभएको थियो । संघका झापा अध्यक्ष एकराज प्रधानले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कोशी प्रदेशका सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



