
राजेश ढुंगाना
नेपाली कांग्रेसको ‘विशेष’ महाधिवेशन पश्चात् कांग्रेसलाई ‘नयाँ कांग्रेस’ नामाकरण गरिएको छ । तर, कसरी, के कारणले, किन यो ‘नयाँ’ भयो ? नयाँवालाले भाषणमा बाहेक केही बताएका छैनन् । त्यसको प्रामाणिक पुष्टि गरेका छैनन्– व्यवहारतः ।
आस्था बदलिएको हो कि आदर्श र विचार पो बदलिएको हो ? नभए किन र कसरी नयाँ कांग्रेस भयो त ? वर्तमान संस्थापन पक्ष भनिएको पक्षले यो ‘नयाँ’ भन्नुको औचित्य पहिले सिद्ध गर्नु प¥यो । होइन भने कांग्रेस भविष्यमा समेत ‘नयाँ’ बन्न सक्दैन ।
अथवा, पहिला यसको टुङ्गो हुनु प¥यो कि नयाँ बन्न के–के हुनु प¥यो र पर्दछ । मुखले फलाको मारेर मात्रै कांग्रेस नयाँ बन्न सक्दैन । हामीमा यो यो र तत्–तत् परिवर्तन आयो र हामी परिवर्तित छौं । सैद्धान्तिक, वैचारिक र व्यावहारिक पक्ष समेतमा आएको परिवर्तन यो यो हो भनेर व्यवहारतः र प्रत्यक्ष देखाउनु प¥यो; प्रामाणिक रूपमा नै सिद्ध गर्नु प¥यो । त्यसै मुखले भनेकै भरमा जनताले पत्याइदिने भए त चुनावको बेला पनि नयाँ कांग्रेसले मौखिक वाचा गरेकै हो । तर, जनताले नपत्याएर सभापति लगायत देशभरि नै लज्जास्पद पराजय भोग्नु प¥यो ।
कांग्रेस नयाँ भयो भन्नुभन्दा अगाडि त यो प्रश्न छ कि– अब कांग्रेस नयाँ बन्न नै सक्छ कि सक्दैन ? आफ्नो स्वत्व सम्पूर्णमा गुमाइसकेको कांग्रेसले कसरी नयाँ जीवन पाउने ?—प्रश्न जटिल छ । बरू कांग्रेसलाई नयाँ बनाउनु र बनाउँछु भन्नु भन्दा २००३ सालदेखि २०४८ (सन्त नेता कृष्णप्रसाद भट्टराईको कार्यकालसम्म) सालसम्मको पुरानो कांग्रेस बनाउँछु, बनाउँछौं भन्दा उपयुक्त होला । कि विचार, आदर्श र सिद्धान्त बदलेर नयाँ कांग्रेस बनाउने हो ? यो नयाँ कांग्रेस भनेकै के हो — खाका समेत आएको छैन । स्पष्ट पारिनु त परकै कुरा !
अहिलेको कांग्रेस २०४८–’५० सालदेखि २०८२ सालसम्मको कुहिएको गनाउने कांग्रेस नै हो अर्थात्, त्यही कालखण्डको अविच्छिन्न निरन्तरता । अघाएकाहरूको सट्टा आधा अघाएका र भोकाहरूको जमात हो यो– ‘नयाँ’ भनिएको ‘कांग्रेस’ । जो पहिलेका अरूभन्दा ‘खान’ ज्यादा आतुर देखिन्छन् — विचार र सिद्धान्तका नाममा । तर, यिनीहरूको दिन गलत समयमा आयो । सत्तामा पुग्ने सुदूर सम्भावना समेत नरहेको परिप्रेक्ष्यमा यिनीहरूले आ–आफू लडाइँ गरेर आ–आफैलाई खाए मात्र हो । किनकि, सत्ता बिनाको कांग्रेस कल्पना पनि गर्न सकिंदैन । अझ स्पष्ट र प्रष्ट भन्नु हो भने, सत्ताबिना कांग्रेस बाँच्नै सक्दैन — जनताका नांगा आँखाले देखेको चरम सत्य यही हो ।
वि.स.२००३, २०१५, २०१७, २०३०–’३१ देखि २०४८ सालसम्मको कांग्रेस विशुद्ध रगत थियो । तर, त्यस यताको कांग्रेस स्याउँ–स्याउँ कीरा परेको नालीको फोहर ‘पानी’ भएको छ; जसलाई पानी समेत भन्न मिल्दैन । बीपी, गणेशमान, केपी लगायतका संस्थापक र अग्रजहरूले बनाएको ‘लिक’ कांग्रेसले छोडिसक्यो । गणेशमान र कृष्णप्रसादले हाँस्दै–हाँस्दै र रुँदै–रुँदै जीवनकालमै आफूले बनाएको कांग्रेस त्याग गर्नु भयो । साँच्चै भन्ने हो भने, बीपी कोइराला आज पनि बाँचिरहनु भएको भए उहाँले पनि कांग्रेस त्याग गर्नु हुने थियो । तर, त्यो भन्दा अगाडि सिंगो कांग्रेसलाई भङ्ग गरिदिनु हुन्थ्यो ।
वि.स.२०५० देखि यता अनुचित धनोपार्जन र राष्ट्रदोहन कांग्रेसको अर्जुन–दृष्टि भएको छ । अब आउने भनिएका नयाँहरूलाई पनि लागेको नानीदेखिको बानी यही हो । कथित नयाँहरु एमालेसँगको विरोध मात्र गर्दैन थिए, अब गठबन्धन गरिंदैन भन्ने वाचा गरेर आएका हुन् । तर, चानचुन २ महिना नपुग्दै प्रदेश सरकार बनाउने सहकार्य गर्न जमेर वार्तामा बसिसके । के यसैले फेरि पुष्टि गर्दैन कि, कांग्रेस आदर्श, सिद्धान्त र विचारमा होइन; ‘सत्ता बाहेक बाँच्नै सक्दैन’ भन्ने ? केही समय पर्खनै पर्ने हुन्छ, तर गठबन्धन गर्दैनौं भनेर जनवाचा गरेर आएको कांग्रेसले शतप्रतिशत रुपमा स्थानीय चुनावमा एमालेसँग गठबन्धन गर्ने छ । अर्थात्, कांग्रेसमा नेतृत्वको अनुहार मात्रै नयाँ हो; सत्तालालची र कमाउमुखी आत्मा पुरानै छ !
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



