
हल्दीबारी, १ जेठ । झापाको हल्दीबारी गाउँपालिका–५ ले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बिहीबार करिब १८ लाख रुपैयाँबराबरका कृषि सामग्री वितरण गरेको छ । ‘वडा र किसानको साझेदारी कार्यक्रम’अन्तर्गत खेती प्रणालीमा आधुनिकीकरण प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष खड्कबहादुर लावतीका अनुसार ३८ जना किसानलाई दुई इन्चको मोटर, ३५ जनालाई १।५ इन्चको मोटर, ३५ जनालाई ठेलागाडा तथा ३० जनालाई इलेक्ट्रोनिक स्प्रे ट्याङ्की वितरण गरिएको छ । त्यसैगरी, मकैखेती प्रवर्द्धनका लागि २० जनालाई मकै रोप्ने मेसिन, २० जनालाई मकै गोड्ने हलो तथा २१ जनालाई मकै छोडाउने मेसिन प्रदान गरिएको उहाँले बताउनुभयो । पशुपालनमा संलग्न १६ जना किसानलाई घाँस काट्ने चापकटरसमेत वितरण गरिएको छ ।
अध्यक्ष लावतीले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले किसानको उत्पादन लागत घटाउन र व्यावसायिक खेती विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



