
झापा, ३ जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल मुनिबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमल गाउँपालिका–६ त्रिवेणी चोक बस्ने १८ वर्षीय विवेक यादव रहेका छन् । उनलाई शुक्रबार दिउँसो करिब २ः३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो इकार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाका आधारमा शरीर तलासी लिँदा उनले लगाएको जिन्स पाइन्टको पेटीभित्र लुकाईछिपाई राखेको अवस्थामा प्लास्टिकसहित १४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको थियो ।
प्रहरीले उनको साथबाट भिभो कम्पनीको एक थान मोबाइलसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


