
झापा, ४ जेठ । झापामा प्रहरीले सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ ।
सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरीद गर्ने सात जना, चोरी गरिएका सात वटा सिटी सफारी, २० वटा ब्याट्री र एक वटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । करिब रू २१ लाख ५५ हजार बराबरको सामान बरामद गरिएको उहाँले बताउनुभयो ।
प्रहरीले मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपक कुमार सरदार), बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम, मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउलाई पक्राउ गरेको छ ।
चोरी भएका सिटी सफारीका ब्याट्री खरिद तथा कारोबारमा संलग्न रहेको आरोपमा बिर्तामोड–५ का ४३ वर्षीय नसिम अकतर, भारत बिहार किसनगञ्ज घर भई अर्जुनधारा–६ मा बस्दै आएका २० वर्षीय एमडी जिगर आलम, अर्जुनधारा–८ का ३२ वर्षीय सञ्जय चौधरीलाई पक्राउ गरिएको छ ।
त्यस्तै, मेचीनगर–७ इँटाभट्टाका २० वर्षीय डिकेश राजवंशी, भारत पश्चिम बंगाल पानीटंकी घर भई मेचीनगर–१४ चारआली बस्दै आएका ३२ वर्षीय पान बर्मु, भारत पश्चिम बंगाल बेलङ्गा थाना घर भई मेचीनगरस्थित चारआली बस्दै आएका ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बंगाल बरमपुर थाना घर भई चारआलीमा बस्दै आएका ४७ वर्षीय आख्तरुल शेखलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर, बिर्तामोड र काँकरभिट्टा लगायतका क्षेत्रमा पार्किङ गरेर राखिएका सिटी सफारी चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त गिरोहलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।
“विभिन्न मिति र समयमा चोरी भएका सिटी सफारीहरूको खोजतलास तथा अनुसन्धान गर्दा सीसीटीभी फुटेजको सहायताले संलग्न व्यक्तिहरूको हुलिया पहिचान गरी नियन्त्रणमा लिन सफल भएका हौं”, उहाँले भन्नुभयो ।
प्रहरीले मेचीनगर, अर्जुनधारा तथा चारआली क्षेत्रका विभिन्न कवाडी पसल र कोठाबाट चोरी गरिएका ब्याट्रीहरू बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा जिल्ला अदालत झापाबाट आइतबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।


