
हल्दीबारी, ६ जेठ । झापाको हल्दीबारी गाउँपालिका–५ धनुषपोखरी क्षेत्रमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
मंगलबार राति सामान्य विवादका क्रममा स्थानीय गोकर्ण भण्डारी भनिने गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खड्कबहादुर लावतीले जानकारी दिए ।
स्थानीयका अनुसार दम्पतीबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको थियो । मंगलबार राति मादक पदार्थ सेवन गरेर घर फर्किएका गोकर्ण र श्रीमतीबीच विवाद चर्किँदा आवेशमा आएर उनले धारिलो हतियार प्रहार गरेका थिए ।
घटनापछि आरोपी आफैं नजिकैको एक स्थानीयको घरमा पुगेर ‘श्रीमतीलाई मारिदिएको’ बताएका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा का सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार आरोपीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
मृतक उर्मिलाका एक छोरा र एक छोरी रहेका छन् । आमाको हत्या र बुबा पक्राउ परेपछि दुवै नाबालक बालबालिका समस्यामा परेका छन् ।


