
झापा, ६ जेठ । झापाको कचनकवल गाउँपालिका–५ डागाँबारीमा आगलागी हुँदा दुईवटा घर तथा भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आज दिउँसो स्थानीय मैरदिन मियाँको घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट टिनको छाना र प्लास्टिकले बनाइएको भान्सा घर पूर्ण रूपमा जलेको छ । भान्सा घरमा रहेको अन्नपात, भाडाकुँडा, दाउरा लगायतका सामग्री जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगो फैलिँदा मैरदिन मियाँका दाजु मैनुदिन मियाँको मूल घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त घरभित्र रहेको अन्नपात, चामल, लत्ताकपडा, नगद, जिन्सी सामान, सुनचाँदी, भाडाकुँडा तथा काठसमेत गरी करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल डागाँबारी, भद्रपुर नगरपालिका दमकल र स्थानीयबासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।


