
भद्रपुर, ६ जेठ । झापाको भद्रपुर नगरपालिका–३ भाङबारी फलामेपुल क्षेत्रमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
आज दिउँसो करिब २ः२० बजे प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र गौरीगञ्ज गाउँपालिका–२ का ३५ वर्षीय असन राईले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाइ ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा ६ ग्राम १४० मिलिग्राम तथा प्लास्टिक बाहेक ६ ग्राम ०७० मिलिग्राम रहेको बताइएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापा मातहत वडा प्रहरी कार्यालय भद्रपुर मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


