
बिर्तामोड, २५ भदौ । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु प्रकरणमा प्रहरीले तीन जना नेपालीलाई पक्राउ गरेको छ । जापानी प्रहरीले लक्ष्मीको हत्या आरोपमा २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रवीण लामालाई मंगलबार पक्राउ गरेको हो।
झापाको भद्रपुर–७, अन्जनी मोड घर भएकी लक्ष्मी यही भदौ ३ गते ९अगस्ट १९० फुकुओका सहरस्थित नाकागावा नदीमा मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार उनी नदीमा घोप्टो परेको अवस्थामा फेला परेकी थिइन्। उनको अनुहार र टाउकोमा चोट देखिएको थियो भने उनले टी–सर्ट र छोटो पाइन्ट लगाएकी थिइन्। खुट्टामा भने जुत्ता थिएन।
फुकुओका प्रहरीका अनुसार चुओ वार्डमा बस्दै आएकी लक्ष्मी एक व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन्। उनी सन् २०२३ को मे महिनामा अध्ययनका लागि जापान पुगेकी थिइन्।
प्रहरी अनुसन्धानका क्रममा अगस्ट १९ को मध्यराति चुओ वार्डको कियोकावा क्षेत्रमा रहेको लक्ष्मीको अपार्टमेन्टमा पक्राउ परेका तीनै जना उपस्थित रहेको खुलेको छ।
प्रहरीका अनुसार उनीहरूले लक्ष्मीको टाउकोमा खाना पकाउने भाँडोले पटक–पटक प्रहार गरी गम्भीर घाइते बनाएपछि अपार्टमेन्टको बाल्कोनीबाट नदीमा फालेको आशंका गरिएको छ। प्रहरीले अपार्टमेन्टभित्र रगतका दाग तथा झगडा भएको देखिने संकेतसमेत फेला पारेको जनाएको छ।
यद्यपि, पोस्टमार्टम रिपोर्टअनुसार लक्ष्मीको मृत्युको मुख्य कारण नदीमा डुब्नु रहेको देखिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकी सञ्जु तामाङ लक्ष्मीका प्रेमीसँगै बस्ने गरेको र उनीहरूबीचको विवाद घटनाको सम्भावित कारण हुन सक्ने आशंकासमेत प्रहरीले गरेको छ। प्रहरीले घटनामा पक्राउ परेका तीनै जनाको भूमिकाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


