
सङ्खुवासभा, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
गएराति वर्षासँगै परेको चट्याङले अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई पाँचखपन आधारभूत अस्पताल, वानामा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन् । उनीहरूको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ ।


