
झापा, ७ जेठ । कोशी प्रदेशको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२–८३ मा ३.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरले बुधबार आयोजना गरेको ‘प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तरक्रिया’ कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.१ प्रतिशत र आधारभूत मूल्यमा २.९ प्रतिशत रहने अनुमान गरिएको छ । राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराई ले पहिलो छदेखि आठ महिनासम्मको तथ्याङ्कका आधारमा अनुमान तयार गरिएको जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशको अर्थतन्त्रको आकार करिब १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप ले प्रदेश सरकारले कृषि, पर्यटन र औद्योगिकीकरणलाई प्राथमिकतामा राखेर अर्थतन्त्र सुदृढ बनाउने प्रयास गरिरहेको बताए । उनले उद्योग तथा कृषिको उत्पादन वृद्धि गर्न विशेष राहत योजना सञ्चालनमा ल्याइएको जानकारी पनि दिए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला ले स्थानीय उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहनप्रसाद सुवेदी ले आयात प्रतिस्थापन गर्न सके कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय वृद्धि हुने धारणा राखे । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख ढुण्डिराज लामिछाने र तथ्याङ्क समन्वय कार्यालय मोरङका प्रमुख सुभाष अधिकारी ले नीति तथा बजेट निर्माणमा तथ्याङ्कको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।


