
झापा, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावाको लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आगामी तीन दिन अत्यधिक गर्मी रहने चेतावनी दिएको छ । विभागका अनुसार केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा मध्यम तातो लहरको असर देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बाँके, बर्दिया र दाङ रहेका छन् ।
विभागले चर्को घाममा बाहिर ननिस्किन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न, हल्का सुतीका कपडा लगाउन र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।


