
मोरङ, १० जेठ । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘लागूऔषध विरुद्धको महाअभियान–२०८३’ कार्यक्रमको शुभारम्भ गरेको छ।
शनिबार बिहान विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम प्रतिनिधिसभा सदस्य आशा झाले रिवन काटेर उद्घाटन गर्नुभएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी तथा युवाको सहभागिता रहेको प्रभातफेरी जलजला चोक र गोल्छा मोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो।
अभियानको दोस्रो चरण विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आयोजना गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गर्दै अभियानको औपचारिक शुभारम्भ गर्नुभयो।
कार्यक्रममा ‘अन्धकारबाट उज्यालतर्फ’ शीर्षकको नाटक, लागूऔषधविरुद्ध सचेतनामूलक सांगीतिक प्रस्तुति तथा पूर्व लागूऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। कार्यक्रममा लागूऔषधविरुद्ध सबै क्षेत्रबाट सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिइएको थियो।
मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक र युवाको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले मोरङ प्रहरीले सञ्चालन गरेको अभियानले युवापुस्तालाई कुलतबाट जोगाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले लागूऔषध नियन्त्रण केवल प्रहरीको दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम र समुदायको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले विराटनगरबाट सुरु भएको यो अभियान देशव्यापी रूपमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, सांसद शन्तोष राजवंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, गृह मन्त्रालयका सहसचिव तथा लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललगायतले लागूऔषधविरुद्ध ऐक्यबद्धता जनाउँदै मन्तव्य राख्नुभएको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले लागूऔषध नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले अभियानको उद्देश्य तथा जिल्लामा लागूऔषध दुर्व्यसनको अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
त्यस्तै, कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागूऔषध दुर्व्यसनले मानव स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिसहित सहभागीहरूले लागूऔषध नियन्त्रणसम्बन्धी ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रममा विभिन्न सुरक्षा निकाय, स्थानीय तह, सरकारी कार्यालय, उद्योग वाणिज्य संघ, बैंक तथा वित्तीय संस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


