
झापा, १० जेठ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सरपीडित एक महिलालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्यसमेत रहेका भट्टराईले पत्नी सुमित्रासहित आइतबार मेचीनगर–५ निवासी २७ वर्षीया विष्णुमाया राईको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।
भट्टराई दम्पतीले नगद २५ हजार रुपैयाँसहित चामल, दाल, खाने तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराएका छन्।
नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्षसमेत रहेका भट्टराईले जन्मदिनलाई औपचारिक उत्सवभन्दा फरक ढंगले मनाउँदै पीडितको दुःखमा साथ दिन सहयोग गरिएको बताए। उनले आफूले विगतदेखि नै जन्मदिन तथा विशेष अवसरहरू सामाजिक सेवामार्फत मनाउँदै आएको उल्लेख गरे।
टोकला चिया बगानमा दैनिक मजदुरी गर्ने विष्णुमायामा क्यान्सर संक्रमण पुष्टि भएपछि केही समयअघि उनको दाहिने खुट्टा काट्नुपरेको थियो। अस्पतालले क्यान्सर शरीरभर फैलिन नदिन तत्काल ‘किमोथेरापी’ सुरु गर्न सुझाव दिए पनि आर्थिक अभावका कारण उनी घरमै बस्न बाध्य छिन्।
अग्रज पत्रकार मोहनकाजी न्यौपानेमार्फत विष्णुमायाको अवस्था थाहा पाएपछि आफूले सहयोग गरेको भट्टराईले बताए। उनले अन्य सहयोगी मनहरूलाई समेत पीडित परिवारको सहयोगमा जुट्न आग्रह गरेका छन्।
विष्णुमायाको परिवारमा पति अनिस राई, सासू पवित्रा राई र पाँच वर्षीय छोरा सुगम रहेका छन्। परिवार नजिकैको चिया बगानमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ।
परिवारका अनुसार उपचारका क्रममा हालसम्म साथीभाइ, छिमेकी र दाताबाट संकलित करिब दुई लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ। यसैबीच, अनिसकी ४८ वर्षीया आमा पवित्रा राईसमेत प्यारालाइसिसका कारण थलिएकी छन्।
सरकारी ऐलानी १३ धुर जग्गामा बनेको सानो फुसको घरमा बस्दै आएको उक्त परिवार पछिल्लो एक वर्षदेखि गम्भीर आर्थिक र स्वास्थ्य समस्यासँग जुधिरहेको छ।
हाल विष्णुमायाको उपचारका लागि अग्रज पत्रकार मोहनकाजी न्यौपाने र मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमियाले विभिन्न संघसंस्था तथा सरोकारवालासँग समन्वय गरिरहेका छन्।


