
झापा, ११ जेठ । झापामा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका काठमाडौं महानगरपालिका–२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय सुशील मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर सहित दमक नगरपालिका–५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउनसुगरसहित विराटनगर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो । लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका सबै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


