
उदयपुर, ११ जेठ । उदयपुरको कटारी नगरपालिका–२ गिद्धबारमा सोमबार बिहान गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ । दुर्घटनापछि मृतकको शव व्यवस्थापनको विषयलाई लिएर प्रादेशिक अस्पताल कटारीमा केहीबेर तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार सौगात एकेडेमी बोर्डिङ स्कुलको लु।प्र।०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन कटारी नगरपालिका–१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए ।
स्थानीय र प्रहरीको सहयोगमा उनलाई तत्काल प्रादेशिक अस्पताल कटारी पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनालगत्तै प्रहरीले बस र चालक कटारी नगरपालिका–२ निवासी ४८ वर्षीय छत्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।


