
बिर्तामोड, १४ जेठ । झापाको बिर्तामोडमा घरायसी विवादका क्रममा खुकुरी प्रहार हुँदा आमा–छोरी घाइते भएका छन् ।
बिर्तामोड नगरपालिका–१ वरपिपलका ३६ का बुद्धिलाल मुर्मुले आज बिहीबार बिहान अन्दाजी १०ः३० बजे घरायसी विवादका क्रममा आफ्नी श्रीमती वर्ष अन्दाजी ३५ की मला मर्डी र छोरी वर्ष अन्दाजी १५ की बिनिता मर्डीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् ।
घटनापछि आरोपित बुद्धिलाल मुर्मु फरार रहेका छन् । घटना भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट खुकुरी बरामद गरेको जनाएको छ ।
घाइते दुवै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । फरार रहेका बुद्धिलाल मुर्मुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


