
शिवसताक्षी, १५ जेठ । झापा शिवसताक्षीको दुधेमा जारी चौथो कर्णबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल आयोजक दुधे भेट्रान क्बल र झिलझिले भेट्रान क्लब बीच हुने भएको छ । बिहीबार भएको दोस्रो सेमी फाइलन खेलमा दमक लखनपुर भेट्रान क्लबलाई २–१ गोल अन्तरले हराएसँगै फाइनल खेल झिलझिले भेट्रान क्लबसँग खेल्ने पक्का भएको हो ।
सुरुदेखि नै रोमाञ्चक बनेको खेलमा दुधेले पहिलो हाफमा बनाएको अग्रता नै जितको आधार बन्यो। पहिलो हाफमा दुधे निकै आक्रामक देखिएको थियो। घरेलु समर्थकको उत्साहबीच दुधेले दमकमाथि लगातार दबाब बनायो। खेलको २१ औं मिनेटमा मोहन तामाङले उत्कृष्ट गोल गर्दै दुधेलाई अग्रता दिलाए। त्यसको तीन मिनेट नबित्दै २४ औं मिनेटमा सन्तोष लिम्बूले अर्को गोल थपेपछि मैदानमा दुधेको पकड बलियो बनेको थियो। पहिलो हाफमा दमक लखनपुरको टिमवर्क खासै मिल्न सकेन। त्यसैको फाइदा आयोजक दुधेले पूरा रुपमा उठायो।
तर दोस्रो हाफ सुरु भएपछि खेलको दृश्य नै बदलियो। दमक लखनपुर नयाँ रणनीतिका साथ मैदान उत्रियो र लगातार आक्रमण गर्दै दुधेमाथि दबाब सिर्जना गर्यो। दोस्रो हाफभरि दमकले खेल नियन्त्रणमा राख्ने प्रयास गरेको थियो। खेलको ४० औं मिनेटमा बिकास राईले आकर्षक गोल गर्दै दमकलाई खेलमा फर्काउने संकेत दिए। त्यसपछि दमकले बराबरी गोलका लागि लगातार अवसर सिर्जना गरे पनि दुधेको रक्षापंक्ति मजबुत बनेर उभियो। अन्तिमसम्म दुधेले आफ्नो अग्रता जोगाउँदै फाइनल यात्रा सुरक्षित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुधेका सन्तोष लिम्बू “म्यान अफ दि म्याच” घोषित भए।
अब प्रतियोगिताको उपाधिका लागि शनिबार हुने फाइनलमा दुधे भेट्रानले झिलझिले भेट्रानसँग भिड्नेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले फाइनल खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ। फाइनल अघि झापा जिल्लाका प्रहरी र दुधे क्लासिक बिच मैत्रीपुर्ण खेल हुने दुधे भेट्रानका अध्यक्ष सन्तोष नेम्वाङले बताए।
प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


