
बिर्तामोड, १५ जेठ । झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा टोलबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार साँझ उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको ण्भन्ने विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।
बिर्तामोड–४ स्थित शर्मिला गुरुङको घरमा डेरा गरी बस्दै आएका व्यक्तिहरुको कोठाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो । डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक उक्त पदार्थ ३ ग्राम ७०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा झापा गाउँपालिका–५ बस्ने अन्दाजी ३५ वर्षीय मिलन कुमार राजवंशी र उनकी श्रीमती कनकाई नगरपालिका–७ बस्ने अन्दाजी २६ वर्षीया सरु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


