
झापा, १६ जेठ । झापाको मेचीनगरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् भने केही दिनअघि सवारी दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल जमिनमा अन्दाजी ३५–४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार साँझ ५ः३० बजे स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको थियो । हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ ।
यस्तै, मेचीनगर नगरपालिका–१२ सयरडाँगी चोकस्थित मेची राजमार्गमा गत जेठ ११ गते भएको सवारी दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदलयात्री मेचीनगर–१३ निवासी ४४ वर्षीय निमा तामाङलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका तामाङलाई प्रारम्भमा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । आर्थिक अभावका कारण डिस्चार्ज लिएर थप उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएका उनको जेठ १५ गते उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी २३ वर्षीय नारायण भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा थप अनुसन्धान भइरहेको छ ।


