
सन्तोष शर्मा
भद्रपुर, १६ जेठ । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।
सडक डिभिजन कार्यालय दमकले अर्जुनधारा–७ स्थित खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ खोलामा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । संघीय सरकारको बजेटबाट निर्माण हुन लागेको उक्त पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा निर्माण गरिनेछ ।
स्रोत सुनिश्चित भएर पुल निर्माणका लागि ठेक्का प्रक्रिायमा गएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । ‘पुल भत्केको लामो समयसम्म ठेक्का लाग्न नसकेपछि डेलिकेशन लिएर सिंहदरबार समेत पुगेका थियौं’, उहाँले भन्नुभयो, ‘ठेक्का आह्वान भएसँगै पुल निर्माण निश्चित भएको छ ।’
गत बैशाख अन्तिम साता बिरिङ नदीमा पुल निर्माणार्थ झापा क्षेत्र नम्बर २ की सांसद इन्दिरा राणा मगर र अर्जुनधारा नगरपालिकाका नगरप्रमुख गोम्देन लगायत जनप्रतिनिधिको टोली सिंहदरबार पुगेको थियो ।
बिरिङ खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका हजारौं बासिन्दाले सास्ती भोग्दै आएका छन् । पुलसँगै ९५० मिटर नदी नियन्त्रणका लागि तटबन्द गर्नुपर्ने र करिब २०० मिटर एप्रोच सडक निर्माण गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख गोम्देनले बताउनुभयो ।
करिब २५ करोड रुपैयाँको लागतमा पुल निर्माणका लागि ठेक्का आह्वान भएको अर्जुनधारा नगरपालिकाका इन्जिनियर निरज अधिकारीले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय दमकले २०८३ जेठ ७ गते प्रकाशित गरेको बोलपत्र सूचनाअनुसार बिरिङ खोलामाथि १६० मिटर लामो स्थायी मोटरेबल पुल निर्माण गरिनेछ । पुल प्रिकास्ट, प्रि–स्ट्रेस्ड कङ्क्रिट (पीएससी), स्टिल, सस्पेन्सन, केबल स्टेड, आर्च वा अन्य नवीन प्रविधिमा आधारित हुन सक्ने उल्लेख गरिएको छ ।
पुलको सवारी मार्गको चौडाइ न्यूनतम ७.५ मिटर तथा दुवै छेउमा १.७५ मिटर चौडा पैदलमार्ग रहने व्यवस्था गरिएको छ । पुलको कुल चौडाइ ११ मिटरभन्दा कम नहुने र सुरक्षासँगै सौन्दर्यलाई समेत ध्यानमा राखेर रेलिङ निर्माण गरिनेछ ।
त्यसैगरी पुलसँग जोडिने पहुँच सडकको फर्मेशन चौडाइ ११ मिटर र सवारी मार्गको चौडाइ ७.५ मिटर रहनेछ । आवश्यक नाली तथा निकास संरचनासहित सडक निर्माण गरिने बताइएको छ ।
पुलको उचाइ विस्तृत जलविज्ञान अध्ययनका आधारमा निर्धारण गरिनेछ भने नदीमा बाढी, गेग्रान तथा पहिरोबाट आउने मलबाको प्रभावलाई समेत ध्यानमा राखी उच्च बाढी सतह र पुलको डेक स्तर तय गरिने जनाइएको छ ।
पुल निर्माण सम्पन्न भएपछि खुदुनाबारी–सनिश्चरे सडकखण्डमा वर्षायाममा हुने आवागमन समस्या समाधान हुनुका साथै स्थानीयबासीलाई सुरक्षित तथा सहज यातायात सुविधा उपलब्ध हुनेछ ।


