
झापा, १६ जेठ । झापाको दमकमा बोराभित्र प्याक गरिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा आइतबार बिहान करिब ११ बजे एक महिलाको शव फेला परेको हो। स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतकले रातो भेस्ट र जिन्स पाइन्ट लगाएकी थिइन्। उनको उमेर करिब ३० देखि ३२ वर्ष रहेको अनुमान गरिएको छ। शवको अवस्था हेर्दा दुईदेखि तीन दिनअघि नै खोलामा फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
शव सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा भेटिएकाले घटना अत्यन्तै शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको हत्या गरी शव खोलामा फालिएको हुन सक्ने आशंका गरिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।
हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। मृतकको बायाँ हातमा ट्याटु रहेको समेत प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिए।
प्रहरीले ती महिलालाई चिन्नुहुने अभिभावक, आफन्त, साथीभाइ वा छरछिमेकलाई नजिकको प्रहरी कार्यालय अथवा प्रहरीको सम्पर्क नम्बर १००, ९८५२६७०६०९, ९८५२६९००३१ र ९८५२६९०२३२ मा जानकारी गराइदिन अनुरोध गरेको छ।


