
झापा, २१ जेठ । नापी विभागले ‘मेरोकित्ता मोबाइल एप सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा ‘मेरोकित्ता मोबाइल एप सार्वजनिक गरिएको हो । उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् ।
एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन् ।
यस्तै, ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ । फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ । एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बर समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ ।


