
झापा, २१ जेठ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर उत्कृष्ट रहेको देखाएको छ। काउन्सिलको ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा समग्र उत्तीर्ण प्रतिशत ६६.९५ रहे पनि स्वदेशी मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीमध्ये ७६.७९ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको परीक्षामा दुई हजार २६३ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये एक हजार ५१५ जना उत्तीर्ण भएका छन्। एमबिबिएसतर्फ स्वदेशी मेडिकल कलेजबाट सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
विदेशी मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत भने तुलनात्मक रूपमा कम देखिएको छ। इजिप्ट, युक्रेन, किर्गिस्तान र रुसमा अध्ययन गरेका विद्यार्थीको नतिजा विशेषतः निराशाजनक रहेको काउन्सिलको तथ्यांकले देखाएको छ।
छिमेकी मुलुक भारत र चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा पनि अपेक्षाकृत कमजोर रहेको छ। भारतका मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीमध्ये ४२.३१ प्रतिशत तथा चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
त्यस्तै, बङ्गलादेशमा अध्ययन गरेका नेपाली विद्यार्थीमध्ये ४१.१४ प्रतिशत र फिलिपिन्समा अध्ययन गरेका २८.५७ प्रतिशत विद्यार्थी लाइसेन्स परीक्षा उत्तीर्ण भएका छन्।
बिडिएसतर्फ स्वदेशी मेडिकल कलेजबाट सहभागी ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५.७५ प्रतिशत उत्तीर्ण भएका छन्। भारतमा बिडिएस अध्ययन गरी फर्किएका १७ नेपाली विद्यार्थीमध्ये भने एक जनामात्र उत्तीर्ण भएका छन्।
यस वर्षको एमबिबिएस लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज (सीएमसी) ९३.१० प्रतिशत उत्तीर्ण दरसहित उत्कृष्ट बनेको छ। त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत उत्तीर्ण दरसहित दोस्रो तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१.६७ प्रतिशत उत्तीर्ण दरसहित तेस्रो स्थानमा रहेका छन्। बिडिएसतर्फ गण्डकी मेडिकल कलेज का सबै विद्यार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर हुनुका प्रमुख कारण भाषागत समस्या र पाठ्यक्रममा रहेको भिन्नता हुन्।
उनले काउन्सिलले अब सैद्धान्तिक परीक्षासँगै व्यावहारिक परीक्षाको व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी दिए। एउटै परीक्षाको नतिजाका आधारमा स्वदेशी शिक्षा उत्कृष्ट र विदेशी शिक्षा कमजोर भन्ने निष्कर्ष निकाल्न नहुने उनको भनाइ छ।
डा. पाण्डेले लाइसेन्स परीक्षाको नतिजाले वास्तविक अवस्था उजागर गरेको उल्लेख गर्दै विदेशबाट अध्ययन गरेका परीक्षार्थीको मनोबल कमजोर बनाउने वा उनीहरूलाई दोषारोपण गर्ने उद्देश्य काउन्सिलको नरहेको स्पष्ट पारे।
चिकित्सा शिक्षाजस्तो संवेदनशील तथा महँगो शैक्षिक कार्यक्रमसँग प्रत्यक्ष रूपमा जोडिएको लाइसेन्स परीक्षाको नतिजामाथि सूक्ष्म समीक्षा गरी देखिएका समस्या समाधानका लागि काउन्सिलले सम्बन्धित सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।
काउन्सिलका अनुसार यसपटकको परीक्षा कम्प्युटर आधारित प्रणाली (सीबीटी) मार्फत मर्यादित, पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गरिएको थियो।


