
झापा, २४ जेठ । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगबाट वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ।
सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेपछि सन् २०१९ देखि यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्द्धन तथा समन्वय डब्ल्युएचओ र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०ले संयुक्त रूपमा गर्दै आएका छन्।
डब्ल्युएचओका अनुसार दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्ने गरेका छन् भने यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ।
विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग जोडिएको विषय हो। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी र उपभोगका प्रत्येक चरणमा सुरक्षा मापदण्डको पालना भए खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको छ। विज्ञहरूले सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने बताएका छन्।
‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित मनाइने यस दिवसले सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।


