
बिर्तामोड, २७ जेठ । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ ।
कृषि विकास शाखाका अनुसार कृषकहरूलाई मकै छोडाउने मेसिन २६ थान, स्प्रे ट्याङ्की १४२ थान, ड्याङ लगाउने हलो ५९ थान, झार गोड्ने काँटा २० थान र हर्वना ३० थान वितरण गरिएको छ । नगरपालिकाले मकै छोडाउने मेसिनमा ७० प्रतिशत र अन्य बाँकी सबै औजारहरूमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले कृषकहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष कृषि सामग्री वितरण गर्दै आएको बताउनुभयो । उहाँले प्राप्त भएका कृषि औजारहरूको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह समेत गर्नुभएको छ ।
त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कृषक लक्षित यस्ता कार्यक्रमहरूलाई क्रमागतरूपमा अघि बढाइने बताउनुभयो । उहाँले कृषकको आवश्यकतालाई ध्यानमा राख्दै कृषि विकास शाखा तथा पशुपंक्षी र मत्स्य विकास शाखा मार्फत विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउँदै आएको जानकारीसमेत दिनुभयो ।


