
भद्रपुर, ३० जेठ । झापाको भद्रपुर नगरपालिका–२ स्थित नृत्यालय स्कुल अफ डान्सले आयोजना गरेको ‘शुद्ध नृत्य युद्ध’को ग्राण्ड फिनाले आज शनिबार हुने भएको छ ।
यहाँस्थित स्थित ग्यालेक्सी पार्टी प्यालेसमा हुन लागेको फिनालेमा १० जनाले प्रतिस्पर्धा गर्ने आयोजक नृत्यालयका सञ्चालक एवम् कार्यक्रम संयोजक सक्षम तामाङले जानकारी दिनुभयो । स्थानीय स्तरमा रहेका प्रतिभाहरूको पहिचान गरी उनीहरूमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
झापाको बनियानी, चन्द्रगढी, हल्दिबारी, भद्रपुर लगायतका स्थानमा गरिएको अडिसनबाट ७० जना प्रतिस्पर्धी छनोट गरिएको बताउनुहुँदै उहाँले दोस्रो चरणमा ३२ जना र तेस्रो चरणमा १० जना छनोट गरी अन्तिम प्रतिस्पर्धाका लागि ग्राण्ड फिनाले हुन लागेको उहाँले बताउनुभयो ।
ग्राण्ड फिनालेमा ओमालिसा मेचे, सलिन मगर, खुसाङ तामाङ, सन्दिपा नेम्बाङ, स्रष्टा राउत, दृशा रिजाल, अर्पण घिमिरे, सेमीहाङमा लिम्बू, सुजाता भट्टराई र रुस्ना कन्दङवाले प्रतिस्पर्धा गर्नेछन् ।
ग्राण्ड फिनालेमा विभिन्न नृत्य विधामा विज्ञता हासिल गर्नुहुने मनिष कटवाल, एपी मगर, शिव मोक्तान र सोममाया तामाङले निर्णायक भूमिका निर्वाह गर्नुहुने आयोजकले जनाएको छ ।
शुद्ध डान्स युद्धमा प्रथम हुनेले नगद १५ हजार रुपैयाँ र ट्रफी, दोस्रो हुनेले १० हजार र ट्रफी, तेस्रो हुनेले ५ हजार र ट्रफी प्राप्त गरेछन् भने अन्य सात जनालाई सान्त्वना स्वरूप ट्रफी र पुरस्कार प्रदान गरिने नृत्यालयकी म्यानेजिङ डाइरेक्टर सुस्मिता राईले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा रहेका प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना गर्न लागिएकाले प्रथम पुरस्कारको राशि र ट्रफी प्रायोजन गरेको कार्कीज क्याफेका सञ्चालक विकास थापाले बताउनुभयो । नृत्यालयले राम्रो कामको सुरुवात गरेकाले होस्टेमा हैसे गरेको उहाँको भनाइ छ ।
दोस्रो पुरस्कारको सौजन्यकर्ता ग्रीनफिल्ड स्कुलका फाउण्डर प्रिन्सिपल सन्देश राईले कला क्षेत्रको प्रवर्धनमा विद्यालय सदैव लागिरहेकाले नृत्यालयले आयोजना गरेको प्रतियोगितामा सहयोग गरेको बताउनुभयो । उहाँले नृत्यसँगै गीत–संगीत, साहित्य लगायतका विधामा समेत काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । तेस्रो पुरस्कारको प्रयोजन आर्ट इमेन्ट मेनेज्मेन्टले गरेको छ ।
प्रतियोगिता आयोजना गर्न मार्ट ओरियन डिपार्टमेन्ट स्टोर लगायत विभिन्न व्यक्ति एवम् संघसंस्थाले सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका क्रममा झेल्नु परेका विभिन्न चुनौती र अवरोधलाई चिर्दै प्रतियोगिता सम्पन्न हुने चरणमा पुगेको सञ्चालक सक्षम तामाङले बताउनुभयो ।


