
झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–६ गैरीगाउँ क्षेत्रबाट अनधिकृत रूपमा नेपाल प्रवेश गर्दै गरेका एक बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो १२ः४५ बजे भारतको पानीट्याङ्कीबाट मेची खोलाको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्दै गरेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
चाँदपुर जिल्लाको तुलाटोली कचुवा मनोहरपुर–३६३० बंगलादेश स्थायी घर भएका सैफुल इस्लामले बंगलादेशी राहदानी बोकेर नेपाल प्रवेश गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर आवश्यक अनुसन्धान गरी थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


