
झापा, ३१ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित गौँडा टिमाई खोलामा नुहाउन तथा गर्मी छल्न गएका सात जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
आइतबार साँझ करिब ७ः०० बजे खोलामा रहेका उनीहरू बाढीका कारण वारिपारि फसी बाहिर निस्कन नसकेपछि अस्थायी प्रहरी चौकी मंगलबारेमा टेलिफोन मार्फत जानकारी गराइएको थियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त टोली घटनास्थल पुगेको थियो ।
प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त प्रयासमा बाढीमा फसेका सातै जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उद्धार गरिएकामध्ये बिर्तामोड नगरपालिका–९ का २६ वर्षीय राजु पाठक, २४ वर्षीया एन्जिना पाठक र २३ वर्षीया आरती पाठक रहेका छन् । त्यस्तै, भद्रपुर नगरपालिका–५ का २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २३ वर्षीय मोहित हलुवाई तथा २४ वर्षीय रोहित साह रहेका छन् ।
उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बर्खायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।


