
बिर्तामोड, २ असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा व्यवसायी धनेन्द्रकुमार पाण्डेले पुनः २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
पाण्डेले उक्त कोषमा गरेको यो तेस्रो योगदान हो । यसअघि पनि उनले दुई पटक २१÷२१ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । पछिल्लो सहयोगसँगै पाण्डेबाट कोषमा जम्मा भएको कुल रकम ६३ हजार रुपैयाँ पुगेको छ ।
व्यवसायी सदस्यहरूलाई विभिन्न विपद्, दुर्घटना, स्वास्थ्य समस्या तथा अन्य आकस्मिक परिस्थितिमा राहत उपलब्ध गराउने उद्देश्यले संघले एक करोड रुपैयाँ बराबरको ‘व्यवसायी सदस्य राहत कोष’ स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको छ। संघका अध्यक्ष राजु न्यौपाने नेतृत्वको कार्यसमितिले उक्त लक्ष्य हासिल गर्न आवश्यक पहल गरिरहेको जनाएको छ । संघका अनुसार हालसम्म राहत कोषमा करिब ३० लाख रुपैयाँ संकलन भइसकेको छ ।


