
झापा, २ जेठ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँका विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार फार्महाउसको आवरणमा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँको टोखा र चन्द्रागिरी क्षेत्रमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले भारतबाट लागुऔषध खरिद गरी नेपाल ल्याउने, फार्महाउस परिसरभित्र जमिनमा खाडल खनी लुकाएर भण्डारण गर्ने तथा मागअनुसार बजारमा बिक्री वितरण गर्ने गरेको खुलेको छ।
पक्राउ पर्नेहरूमा नुवाकोटका निमा तामाङ र विक्रम लामा, रुपन्देहीका सागर बुढाथोकी, भक्तपुरका उद्धव श्रेष्ठ र विकास काफ्ले, सिन्धुलीकी माया विशखे, कालिकोटका खड्क रोकाया र कमला थामी रहेका छन्। यस्तै बाजुराकी मेनुका थामी, बाराका सञ्जय साह सोनार, पर्साका प्रमोद प्रसाद कलवार, काठमाडौँकी मोनिका श्रेष्ठ र सुशिला महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूको साथबाट नियन्त्रित लागुऔषध ट्रामाडोल दुई लाख नौ हजार क्याप्सुल, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी दुई हजार चार सय एम्पुल, नगद ७ लाख ८७ हजार ५०० रुपैयाँ तथा विभिन्न कम्पनीका २८ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
पक्राउ परेकाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी ले जानकारी दिएका छन्।


