
झापा, ३ असार । झापा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ठूलो संख्यामा लागू औषध प्रयोगकर्ता तथा कारोबारीहरूलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयहरूबाट खटिएको ‘स्वीप अपरेसन’ प्रहरी टोलीले ९२ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असार १ र २ गते सञ्चालन गरिएको उक्त विशेष अपरेसनका क्रममा शंकास्पद अवस्थामा हिँड्डुल गरिरहेका ७९ जना पुरुष र ४ जना महिला गरी कूल ८३ जना लागू औषध सेवनकर्ताहरूलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने वा पुनस्र्थापना केन्द्रमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अपरेसनका क्रममा प्लास्टिक बाहेक ३८ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ३ ग्राम ९०० मिलिग्राम गाँजा बरामद गरेको छ । उक्त लागू औषधसहित ९ जना मुख्य कारोबारी÷सम्बन्धित व्यक्तिहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा दमक–३ का विकास भुजेल (२७ वर्ष), भद्रपुर–७ की सरिता राजवंशी (३० वर्ष), बिर्तामोड–६ का देवेन्द्र बि.क. (१८ वर्ष), बिर्तामोड–३ घर भई हाल बिर्तामोड–४ मा डेरा गरी बस्ने गणेश प्रसाद ओली (३९ वर्ष), बिर्तामोड–४ का उमेश राजवंशी (३० वर्ष), बिर्तामोड–३ का चाम्स लिम्बु (२६ वर्ष) रहेका छन् ।
त्यसैगरी, शिवसताक्षी–७ का एलेक्स भन्ने सुरज ढकाल, चितवन भरतपुर महानगरपालिका–१४ का सोनी खाती (२४ वर्ष) र झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टाकी सिता राजवंशी (६० वर्ष) लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ९२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।


