झापा, ५ असार । झापाको कनकाई नगरपालिकाको स्वामित्वमा रहेको सरकारी मोटरसाइकल चोरी गरी सोही मोटरसाइकल प्रयोग गरेर लागूऔषध कारोबार गरिएको खुलासा भएको छ। प्रहरीले चोरीको सरकारी मोटरसाइकलमा ब्राउन सुगर बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ८ः२० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा शंकास्पद अवस्थामा रहेको मे १ ब ३१८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ निवासी ३७ वर्षीय बलबहादुर सुवेदी र शिवसताक्षी नगरपालिका–९ निवासी २२ वर्षीय नगेन्द्र दर्जी रहेका छन्।
टाघनडुब्बा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। पक्राउ परेका दुवै जनालाई चोरीको मोटरसाइकल र बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।
प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल सरकारी स्वामित्वको रहेको खुलेको छ। यातायात व्यवस्था कार्यालय बिर्तामोडका अनुसार मोटरसाइकल पशु सेवा कार्यालय भद्रपुरको नाममा दर्ता रहेको थियो। उक्त मोटरसाइकल २०७३ सालमा पशु सेवा कार्यालयले कनकाई नगरपालिकालाई हस्तान्तरण गरेको थियो।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलका अनुसार नगरपालिकाको नियन्त्रणमा रहेको उक्त मोटरसाइकल तीन दिनअघि चोरी भएको थियो। नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत शाखा प्रमुख तेजबहादुर पौडेलले प्रयोग गर्दै आएको मोटरसाइकल चोरी भएपछि खोजी भइरहेको थियो।
चोरी भएको सरकारी मोटरसाइकल लागूऔषध ओसारपसारमा प्रयोग भइरहेको अवस्थामा फेला परेपछि घटनाले थप गम्भीर रूप लिएको छ। पक्राउ परेका सुवेदी र दर्जीमाथि लागूऔषध तथा सवारी चोरीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


