झापा, ८ असार । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गल आसपासका किसानहरू वर्षौंदेखि जङ्गली हात्ती र बाँदरको आतंकबाट पीडित छन्। बाली पाक्ने समय नपुग्दै वन्यजन्तुले क्षति पुर्याउने समस्या यहाँका किसानका लागि सामान्य बनेको छ। तर स्थानीय भूपेन्द्र तामाङका लागि यो समस्या अहिले विगतको कुरा बनेको छ।
पेसाले इन्जिनियर रहेका तामाङले छ वर्षअघि ‘टुकु कृषि फार्म’ दर्ता गरेर दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोपे। पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा २०० रुपैयाँका दरले बिरुवा खरिद गरी ल्याएका उनले नेपालमै पहिलोपटक यति ठूलो क्षेत्रफलमा यसको व्यावसायिक खेती सुरु गरेको दाबी गर्छन्।
ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइने ‘मेकाडामिया नट्स’ अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च मूल्यको फलका रूपमा परिचित छ। जङ्गलको छेउमा रहेको खेतबारीका लागि सुरक्षित बालीको खोजी गर्ने क्रममा आफूले यसको बारेमा जानकारी पाएको तामाङ बताउँछन्।
“न बाँदरले खान सक्छ, न हात्तीले नोक्सान गर्न सक्छ भन्ने थाहा पाएपछि पोखरा पुगेर बिरुवा ल्याएँ,” उनले भने, “यसका पातमा काँडा हुन्छन् र फल अत्यन्तै कडा हुने भएकाले वन्यजन्तुले क्षति पुर्याउन सक्दैनन्। चराचुरुङ्गीले समेत यसलाई असर गर्दैनन्।”
कार्यालय समयबाहेक र बिदाका दिन फार्ममै व्यस्त रहने तामाङले पुरानो सुपारी बगानभित्रको खाली स्थान उपयोग गरेर मेकाडामिया रोपेका हुन्। फार्ममा सुपारीसँगै एक किलोभन्दा बढी तौल हुने आँप, सावर सप, आल्मन्ड, नासपाती, अमेरिकन आरु, कालो आँप, एभोकाडो, ल्वाङ र सीताफललगायतका विभिन्न फलफूल पनि लगाइएका छन्।
यद्यपि, उनको मुख्य प्राथमिकता भने ‘मेकाडामिया नट्स’ नै हो। गत वर्षदेखि सामान्य उत्पादन दिन थालेको यो बालीले यस वर्ष राम्रो फल दिएको छ। नेपाली बजारमै प्रतिकिलो दुई हजार रुपैयाँसम्म बिक्री हुने यो फलको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग रहेको तामाङको भनाइ छ।
उनका अनुसार एउटा बोटबाट वार्षिक ४० देखि ६० किलोसम्म उत्पादन हुन्छ। केही समयअघिको असिनापानीले सामान्य क्षति पुर्याए पनि यस वर्ष फार्मबाट करिब दुई हजार किलो उत्पादन हुने अनुमान गरिएको छ। त्यसबाट करिब ४० लाख रुपैयाँ आम्दानी हुने र २५ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा प्राप्त हुने उनको दाबी छ। खेती सुरु गरेयता हालसम्म करिब १४ लाख रुपैयाँ लगानी भइसकेको उनले बताए।
कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख सागर विष्टका अनुसार झापामा हालसम्म यति ठूलो परिमाणमा ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती भएको जानकारी छैन। बुद्धशान्ति, अर्जुनधारालगायत केही स्थानमा शौखका लागि सीमित बोट रोपिएको पाइए पनि तामाङको खेती अध्ययन र अनुसन्धानको विषय बनेको उनले बताए।
तामाङले आफ्नो फार्म पूर्ण रूपमा अर्ग्यानिक रहेको दाबी गरेका छन्। “रोग र कीराबाट बचाउन कुनै पनि रासायनिक विषादी वा मल प्रयोग गरेको छैन। स्थानीय स्रोतबाट उत्पादन भएको मल प्रयोग गरेर भविष्यमा अर्ग्यानिक ‘मेकाडामिया नट्स’को नेपाली ब्रान्ड स्थापना गर्ने योजना छ,” उनले भने।
अवकाशपछि पूर्ण रूपमा कृषि व्यवसायमै समर्पित हुने लक्ष्यसहित फार्म विस्तार गरिरहेका तामाङका अनुसार ‘मेकाडामिया नट्स’को उत्पत्ति अस्ट्रेलियामा भएको हो। नेपालमा भने सन् १९६२ मा त्रिशूली फार्ममार्फत पहिलोपटक यसको खेती भित्रिएको इतिहास छ।
कृषि विज्ञहरूका अनुसार कडा बोट, बलियो जरा र प्रतिकूल मौसम सहन सक्ने क्षमता भएकाले ‘मेकाडामिया नट्स’ नेपालको पूर्वी तराईका लागि पनि उपयुक्त बाली हुन सक्छ। गर्मी समयमा २५ देखि ३२ डिग्री सेल्सियस तापक्रम यसको उत्पादनका लागि अनुकूल मानिन्छ।
झापाका विभिन्न क्षेत्रमा जङ्गली हात्ती र बाँदरले बाली नष्ट गरेर किसानलाई हैरान बनाइरहेका बेला मेचीनगरका भूपेन्द्र तामाङले सुरु गरेको यो खेती वन क्षेत्र आसपासका किसानका लागि दिगो र लाभदायी विकल्पका रूपमा स्थापित हुने संकेत देखिएको छ।


