झापा, ८ असार । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार गएराति बानेश्वरस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दमसहितका स्वास्थ्य समस्याका कारण केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए ।
काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए। उनले २०२५र०२६ सालतिर तत्कालीन नेशनल कलेज ९हाल शंकरदेव क्याम्पस० मा नेपाल विद्यार्थी संघको इकाइ समिति सचिवको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका थिए।
खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा जनआन्दोलन २०६२–६३मा सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्रका लागि संघर्षका क्रममा उनले विभिन्न समयमा गरी करिब नौ वर्ष जेल जीवनसमेत बिताएका थिए।
बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई राजनीतिक आदर्श मान्ने खरेल २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए। त्यसपछि उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने जनाइएको छ। अन्तिम संस्कार आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।
खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।


