
झापा, ११ असार । जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानअन्तर्गत बुधबार एकै दिन ३६ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ गरेको छ ।
बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको संयुक्त टोलीले झापाका विभिन्न स्थानमा शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी तथा जाँच अभियान सञ्चालन गरेको थियो ।
अभियानका क्रममा शंकास्पद अवस्थामा हिँडडुल गर्ने लागुऔषध सेवनकर्ताहरू २९ जना पुरुष तथा लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिक बट्टा १० ग्राम ७१८ मिलिग्रामसहित ७ जना गरी जम्मा ३६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साथै, लागुऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकताअनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य समेत भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता सूचना अधिकारी प्रनाउ रञ्जन अवाले जानकारी दिनुभयो ।
प्रहरीले लागुऔषधसहित झापा अर्जुनधारा नगरपालिका–५ का वर्ष ५० को भरत मोक्तान, कमल गाउँपालिका–७ का २७ को समन घिमाल र २५ वर्षको प्रदिप दास, हल्दीबारी गाउँपालिका–३ का प्रितम तामाङ, बिर्तामोड नगरपालिका–३ का वर्ष २० की सुनिता पासवान र २१ वर्षको उदय पासवान, इलाम सूर्योदय नगरपालिका–११ का वर्ष ४५ का रविन प्रधानलाई पक्राउ गरेको छ ।


