
भद्रपुर, १६ असार । लियो क्लब अफ भद्रपुरको अध्यक्षमा भद्रपुर ८ निवासी आराध्या प्याकुरेल सर्वसम्मत चयन भएकी छिन् । भर्खरै सम्पन्न AGM बाट प्याकुरेलको नेतृत्वमा सन् २०२६/२०२७ कार्यकालका लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रतीक साह रौनियार, द्वितीय उपाध्यक्षमा आदित्य दास, सचिवमा आरोग्य तिम्सिना र कोषाध्यक्षमा रिदिप अधिकारी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा मनीष पौडेल, शुभम कर्ण, सुस्मिता राई, कुशल महत, भारती शर्मा, सुन्दरम चौधरी, यथार्थ कार्की र आयुषा पोखरेल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष प्याकुरेलले आफ्नो कार्यकालमा क्लबलाई थप ऊर्जावान् र गतिशील बनाउँदै सेवाका क्षेत्रमा नयाँ मानक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। “Leadership Beyond Limits, Service Beyond Self” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै उनले भनिन्, “हाम्रो उद्देश्य समाज सेवा संगै, लियो सदस्यहरूमा नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्दै उनीहरूलाई समाजको सक्षम नागरिकका रूपमा उभ्याउनु पनि हो।”
अध्यक्ष प्याकुरेलले आफ्नो कार्यकालका प्रमुख प्राथमिकताहरू वातावरण संरक्षण, सामाजिक सशक्तीकरण, नेतृत्व विकास, मानवीय सेवा, युवा तथा खेलकुद रहेको बताइन् ।
उनले थपिन्, “हामी टिमका प्रत्येक सदस्यको सिर्जनशीलता र सहकार्यलाई प्रवर्द्धन गर्दै लियो क्लब भद्रपुरलाई समाजमा सकारात्मक परिवर्तनको संवाहक र नेतृत्व विकासको केन्द्रका रूपमा अगाडि बढाउनेछौँ।”


