
हरि लम्साल निर्देशित चलचित्र ‘बा : एक योद्धा’ को ट्रेलर सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरको केन्द्रमा बुबाको संघर्ष छ।
आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने बिषय ट्रेलरले देखाएको छ । आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको समेत ट्रेलरले बुझाउन खोजेको छ ।
‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउदैछ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर चलचित्रमा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्र आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।


