
सन्तोष शर्मा
झापा, १६ असार । झापामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ ।
कृषकले उचित मूल्य नपाउँदा जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो । झापामा चालू आर्थिक वर्ष २०८२÷०८३ मा १६ हजार सात सय ५८ हेक्टर क्षेत्रफलमा ८९ हजार छ सय ५५.३ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । जुन परिमाण गत वर्षको तुलनमा सात हजार चार सय ७८.७ मेट्रिकटन कम हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा १९ हजार नौ सय ५० हेक्टरमा एक लाख छ हजार एक सय ३४ मेट्रिक टन चैते धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार आठ सय ५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
जिल्लामा धान खेतीको क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढिरहेको छ । आव २०८०÷०८१ मा चैते धानको उत्पादकत्व ५.२४ थियो । आव २०८१÷०८२ मा ५.३२ पुगेको छ भने चालू आव २०८२÷०८३ मा ५.३५ पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
विकल्प खोज्दै कृषक
मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने सरकारी योजनामा मुख्य कडी मानिएको चैते धानको उचित मूल्य कृषकले विकल्प खोज्न थालेका छन् । उत्पादकत्वमा केही सुधार देखिए पनि उचित बजार मूल्य र सरकारी खरिद नीतिको अभावका कारण कृषकहरू चैते धानको विकल्प खोज्न थालेका हुन् ।
उचित मूल्य नपाएपछि धेरैजसो कृषकहरू धान खेती छाडेर मकै तथा अन्य बालीतर्फ मोडिएका छन् ।
आव २०८२÷०८३ मा जिल्लामा ४६ हजार एक सय २५ हेक्टरमा गरिएको मकै खेती गरिएको थियो । जसमा दुई लाख ८३ हजार एक सय ८७.८८ मेट्रिक टन मकै उत्पादन भएको छ । गत आव २०८१÷०८२ मा ४४ हजार छ सय २० हेक्टरमा तीन लाख ५१ हजार चार सय २६.४५ मेट्रिक टन मकै उत्पादन भएको थियो । यस पटक वर्षाका कारण मकै उत्पादनमा कमी आए पनि उत्पादकत्व ७.८८ बाट वृद्धि भई ७.८९ पुगेको छ ।
धान सुपरजोन कचनकवलकी कृषक पुष्पा रिमालले चैते धानको मूल्य नपाउँदा कृषकहरु मकै खेतीतर्फ आकर्षित भएको बताउनुभयो । “धानको मूल्य नै नपाएपछि मकै खेती गरें”, उहाँले भन्नुभयो, “दाम राम्रो भएपनि वर्षाले नोक्सान गर्यो ।”
लागत नै नउठ्ने मूल्य
कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्ट कृषकले छ सयदेखि छ सय ५० रुपैयाँ प्रतिमन (४० केजी) मा चैते धान बेचिरहेको बताउनुभयो । “यो मूल्यले किसानको लागत नै उठ्दैन”, उहाँले भन्नुभयो, “अनि किसानले कसरी खेती गर्छन्, हामीले खेती गर पनि कसरी भन्नु ?”
सरकारले चालु आर्थिक वर्षका लागि चैते धानको मूल्य प्रतिक्विन्टल रू दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको थियो । जुन गत वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले बढी हो ।
गत साउनमा सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रू तीन हजार चार सय ६३ र मध्यम धानको रू तीन हजार छ सय २८ निर्धारण गरेको थियो ।
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य अनुसार प्रतिमन धानको मूल्य रू एक हजार एक सय ४२.४ हुन्छ । तर, कृषकहरूले रू छ सयदेखि रू छ सय ५० पाइरहेका छन् ।
सरकारी नीति कागजमै सीमित
सरकारले चैते धानको क्षेत्रफल विस्तार गर्ने नीति लिए पनि व्यावहारिक रूपमा सरकारी संयन्त्रबाट धान खरिद गर्ने वा समर्थन मूल्य कार्यान्वयन गराउने कुनै स्पष्ट र प्रभावकारी व्यवस्था नरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताउनुभयो ।
“बजार पूर्ण रूपमा निजी व्यवसायीहरूको नियन्त्रणमा रहँदा किसानहरू मारमा परेका छन्”, उहाँले भन्नुभयो, “किसानलाई उत्पादनमा प्रोत्साहन गरेर मात्र हुँदै बजार सुनिश्चित हुनुपर्छ ।”
“वर्षे धानको क्षेत्रफल बढाउने ठाउँ हाम्रो देशमा अब बाँकी छैन, त्यसैले चामलमा आत्मनिर्भर हुनका लागि चैते धानकै क्षेत्रफल र उत्पादन बढाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “यदि सरकारले न्यूनतम समर्थन मूल्यमा किसानको धान आफैं खरिद गरिदिने वा बजार मूल्य सुरक्षित गर्ने ग्यारेन्टी गर्दैन भने चैते धानको खेती अझै घट्दै जानेछ, जसले मुलुकमा गम्भीर खाद्य संकट निम्त्याउन सक्छ ।”
घाटाको व्यापार गरेर कृषकले सधैं खेती गरिरहन नसक्ने हुँदा सरकारले बेलैमा खरिद रणनीति र यान्त्रीकरणलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्ने उहाँको भनाइ छ ।


