
मेचीनगर, १७ असार । झापाको मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार अपराह्न करिब ३ः४५ बजे कुलोमा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेको भन्ने स्थानीयवासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो।
अनुसन्धानका क्रममा मृतक अन्दाजी ५० वर्षीय संजय सोरेन रहेको खुलेको छ। उनी करिब ६–७ वर्षअघि भारतको आसामबाट आएर सोही क्षेत्रमा विभिन्न काम गर्दै बस्दै आएका थिए। नेपालमा उनको स्थायी बसोबास नभएकाले काम गर्ने घरमै बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मृतककी १२ वर्षीया छोरी सुमी सोरेन भने मेचीनगर–७ निवासी मेघनाथ चौधरीको घरमा बस्दै आएको बुझिएको छ।
प्रहरीले साँझ कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


