
झापा, १७ असार । झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब १ बजे पूर्णचन्द्र रिजालको इँटा र काठबाट बनेको टिनको छानो भएको दुई कोठे कच्ची घरमा अचानक आगलागी भएको थियो। आगोले घरसँगै टाँसिएको गोठसमेत जलेर नष्ट भएको छ।
आगलागी मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि राति २ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट घर आंशिक रूपमा क्षति भएको छ भने घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात, आधा तोला सुन, नगद ५० हजार रुपैयाँ तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनाबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन। प्रहरीले घटनास्थलमा मुचुल्का तयार गर्ने कार्य गरिरहेको छ भने आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।


