
झापा, १८ असार । करिब दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अवरोधका कारण ठप्पप्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ। काँकडभिट्टा नाका हुँदै नेपाली चिया बोकेका ट्रकहरू भारतीय बजारतर्फ जान थालेपछि चिया उद्योगी, किसान र व्यवसायीमा राहतको वातावरण बनेको छ।
मेची भन्सार कार्यालयका अनुसार मंगलबार इलाम टी र समर भ्यालीका चिया बोकेका दुई ट्रक भारततर्फ प्रस्थान गरेका थिए। त्यसयता थप तीन ट्रक गरी पछिल्लो दुई दिनमा पाँच ट्रक चिया भारत निर्यात भइसकेको छ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार हाल नाकाबाट चिया निर्यात पूर्ण रूपमा सहज भएको छ।
भारतको नयाँ नीतिपछि सहज बन्यो निर्यात
निर्यात पुनः सुचारु हुनुको मुख्य कारण भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले चिया आयातसम्बन्धी परीक्षण प्रक्रियामा गरेको संशोधन हो।
जुन २३ मा जारी नयाँ व्यवस्थाअनुसार अब प्रत्येक खेपको अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था हटाएर केवल २० प्रतिशत खेपमा मात्र जोखिमका आधारमा नमुना परीक्षण गरिनेछ। यसअघि सबै खेपको परीक्षण गर्दा रिपोर्ट आउन लामो समय लाग्ने, चियाको गुणस्तर प्रभावित हुने र निर्यात प्रक्रिया नै अवरुद्ध हुने अवस्था सिर्जना भएको थियो।
आन्दोलनपछि खुलेको थियो समाधानको बाटो
लगातार निर्यात अवरुद्ध भएपछि झापा र इलामका करिब ९९ वटा चिया उद्योग बन्द भएका थिए। बजार नपाउँदा हरियो चियापत्ती बगानमै खेर जान थालेपछि उद्योगीहरूले आन्दोलनसमेत गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक पहलमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि उद्योगहरू पुनः सञ्चालनमा आएका थिए।
अर्थोडक्स चिया निर्यात सुरु, सीटीसीमा मूल्य वार्ता
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष तथा चिया निर्यातकर्ता शिवकुमार गुप्ताका अनुसार इलामलगायत पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको निर्यात अहिले नियमित रूपमा भइरहेको छ।
तर, तराई क्षेत्रमा उत्पादन हुने सीटीसी चिया भने हालसम्म भारत निर्यात भएको छैन। व्यवसायीका अनुसार यसको कारण कुनै प्रशासनिक अवरोध नभई भारतीय खरिदकर्तासँग मूल्य नमिलेको हो। दुवै पक्षबीच मूल्यबारे छलफल जारी रहेकाले केही दिनमै सीटीसी चियाको निर्यात पनि सुरु हुने अपेक्षा गरिएको छ।
१३ लाख किलो तयारी चिया अझै मौज्दात
लामो समय निर्यात रोकिँदा नेपाल र भारतका विभिन्न गोदाममा करिब १३ लाख किलोग्राम तयारी चिया मौज्दात रहेको व्यवसायीहरूको अनुमान छ।
तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका सञ्चालक उत्तम श्रेष्ठका अनुसार उनका उद्योगमा मात्रै करिब ५० हजार किलोग्राम तयारी चिया थन्किएको थियो। निर्यात पुनः सुरु भएपछि हालसम्म १० देखि १५ हजार किलोग्राम चिया भारत पठाइसकिएको उनले जानकारी दिए।
दार्जिलिङसँगको प्रतिस्पर्धा प्रमुख चुनौती
व्यवसायीहरूका अनुसार भारतीय पक्षबाट पटक–पटक देखिने अवरोधको मुख्य कारण गुणस्तरभन्दा पनि बजार प्रतिस्पर्धा हो। इलाम र दार्जिलिङको हावापानी तथा चियाको गुणस्तर समान प्रकृतिको भए पनि नेपालको उत्पादन लागत कम भएकाले नेपाली चिया भारतीय बजारमा प्रतिस्पर्धी बन्दै गएको उनीहरूको भनाइ छ।
दीर्घकालीन समाधानको माग
उद्योगीहरूले अहिलेको सहमति तत्कालीन राहत मात्र भएको भन्दै नेपाल र भारतबीच सरकार–सरकार (जी–टु–जी) स्तरमा दीर्घकालीन सम्झौता गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनीहरूले भारतमा मात्र निर्भर रहने अवस्था अन्त्य गर्दै युरोप, अमेरिका, जापान तथा खाडी मुलुकलगायत तेस्रो मुलुकमा नेपाली चियाको प्रत्यक्ष निर्यात विस्तार गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्। यसले नेपाली चिया उद्योगलाई दीर्घकालीन स्थायित्व दिनुका साथै विदेशी मुद्रा आर्जनसमेत उल्लेखनीय रूपमा बढ्ने विश्वास उद्योगीहरूको छ।


