
झापा, १९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आज (२०८३ असार १९ गते) बिहान करिब १०ः४५ बजे स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा लगायतका विभिन्न सामग्रीसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट करिब रु. ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको सहयोगमा बिहान करिब ११ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
घटनामा कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।


