
झापा, १९ असार । नेपाल आयल निगम लिमिटेडले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ।
निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोल पम्पले ‘नोजल ड्राई’ गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने व्यवस्था थपेको हो । नयाँ व्यवस्थाअनुसार यस्तो कसुर गर्ने पेट्रोल पम्प सञ्चालकलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै ५ दिनदेखि १५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गर्न सकिनेछ ।
यो निर्णय पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाउँदा देशभर इन्धन आपूर्ति असहज बनेपछि गरिएको हो । बुधबार बिहानदेखि विभिन्न स्थानमा पेट्रोल र डिजेलको अभाव देखिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध गर्ने व्यवसायीमाथि कारबाही गर्न कानुनी व्यवस्था तत्काल गर्न निर्देशन दिएपछि बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले विनियमावली संशोधन गरेको हो ।
संशोधित व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिन इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवाना सहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक कसुर दोहोरिए १० लाख रुपैयाँ जरिवानाका साथै १५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।
निगमका अनुसार नयाँ व्यवस्थाले भविष्यमा कुनै पनि पेट्रोल पम्पले उचित कारणबिना सेवा बन्द गरी कृत्रिम अभाव सिर्जना गर्न नपाउने र उपभोक्ताले नियमित रूपमा इन्धन सेवा पाउने अपेक्षा गरिएको छ।


