झापा, ११ कात्तिक । झापामा व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका किसानले भारतीय फूलको आयात नियन्त्रण गरी स्वदेशी उत्पादनलाई बजारमा प्राथमिकता दिन प्रशासनसँग माग गरेका छन्। स्थानीय उत्पादनले बजार नपाउँदा फूल बोटमै खेर जाने अवस्था सिर्जना भएको भन्दै किसानले स्वदेशी उत्पादनको संरक्षण र उचित मूल्यको व्यवस्था गर्न आग्रह गरेका हुन्।
बिर्तामोडकी कृषक सुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ। मागपत्रमा स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने विषयलाई मुख्य रूपमा उठाइएको छ।

किसानका अनुसार पछिल्ला केही वर्षयता झापामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ। तर, भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार पाउन नसक्दा किसानले आर्थिक क्षति बेहोर्नुपरेको छ।
कृषक पौडेलले स्थानीय उत्पादनले नै बजारको माग धान्न सक्ने अवस्था रहेकाले भारतीय फूलको आयात रोक्न आवश्यक नीतिगत पहल गर्न प्रशासनसँग आग्रह गरिएको बताइन्। लाखौँ रुपैयाँ लगानी, श्रम र समय खर्चिएर उत्पादन गरेको फूल बिक्री नहुँदा किसान निरुत्साहित हुने अवस्था आएको उनको भनाइ छ।
झापामा हाल १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको किसानहरूले बताएका छन्। बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा फूलखेती विस्तार भएको छ। यस व्यवसायले स्थानीय स्तरमा रोजगारी र आयआर्जनको अवसरसमेत सिर्जना गरेको छ।
किसानले भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा प्रभावकारी अनुगमन गर्न माग गरेका छन्। साथै, स्थानीय उत्पादनले उचित मूल्य र सहज बजार पाउने व्यवस्था मिलाउन पनि उनीहरूले आग्रह गरेका छन्।
मागपत्रमा सरकारी कार्यालय, विद्यालय, होटल तथा विभिन्न सङ्घसंस्थामा स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने, फूलखेतीको वास्तविक तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन योजना बनाउनुपर्ने र किसानको लगानी सुरक्षित गर्न सरकारी सहयोग उपलब्ध गराउनुपर्ने विषय समेटिएका छन्।
स्थानीय फूलखेतीलाई संरक्षण र प्रवर्द्धन गर्न सके किसानको आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने किसानहरूको अपेक्षा छ। उनीहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।



