झापा, ११ कात्तिक । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड ७१ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनाबाट जिल्लामा ठूलो आर्थिक नोक्सानी भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ। यस अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ वटा आगलागीका घटना भएका छन्। ती घटनामा एक जना घाइते भएका छन् भने १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटना भएका छन्। ती घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ। जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, चट्याङको एउटा घटनाबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीको तथ्याङ्कअनुसार आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङबाट भएको कुल भौतिक क्षति १० करोड ७१ लाख ७१ हजार ९७५ रुपैयाँ पुगेको छ।
विपद्का घटना न्यूनीकरण गर्न प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। आगलागीबाट जोगिन विद्युतीय उपकरणको प्रयोगमा सतर्कता अपनाउन, विद्युत् तार तथा उपकरणको नियमित जाँच गर्न र आगो प्रयोग गर्दा विशेष ध्यान दिन प्रहरीले अनुरोध गरेको छ।
त्यसैगरी, वन तथा मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई जङ्गली जनावरबाट सुरक्षित रहन र जोखिमयुक्त क्षेत्रमा जाँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।



