
विराटनगर, १९ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, लागू औषध ट्याब्लेट ७९०, नगद ८६ हजार रुपैँया र २ थान सवारी साधन बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान- ११ घर भई हाल इटहरी- ४ स्थित कोठामा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले धरान- ७ का रितेश भुजेललाई ३ ग्राम ४० मिलीग्राम ब्राउन सुगर र नगद ४७ हजार सहित र धरान-३ का शंखर गिरीलाई २ ग्राम ८० मिलीग्राम ब्राउन सुगर र नगद ६ हजार रुपैँया सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी हिले धनकुटाले संखुवासभा धर्मदेवी नगरपालिका-१ का अनिल घिसिङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले प्र.१-०५-००१ प ५९७१ नम्बरको स्कुटरमा सवार त्रियुगा नगरपालिका-१० का दिलिप खड्कालाई प्रतिबन्धित औषधी ओपिडोल र स्पास्मो गरी जम्मा ४९० चक्की सहित र इलाका प्रहरी कार्यालय कटारीले प्र. २-०१-००१प ५४७७ नम्बरको मोटरसाईकलमा सवार कटारी- ४ का श्याम सहनी र रबिन खड्कालाई तापेन्ताडोल ३ सय चक्की, नगद ३३ हजार रुपैँया सहित पक्राउ गरेको छ ।


