
झापा, २० असार । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गरी त्यसलगत्तै स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई उहाँले संगठन सुदृढीकरण र डिजिटल प्रविधिमार्फत पार्टीलाई समयानुकूल बनाउने अभियानलाई पनि तीव्रता दिइएको बताउनुभयो ।
“सामाजिक सञ्जालको प्रभावले मुलुकको राजनीतिमा नयाँ चुनौती थपिएको छ”, भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संग्रौलाले भन्नुभयो, “कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्न जरुरी छ । ”
क्रियाशील सदस्यताको अध्यावधिक डिजिटल प्रणालीमार्फत भइरहेको बताउँदै नेतृ संग्रौलाले वडा समितिदेखि केन्द्रीय समितिसम्म ३५ वर्षमुनिका युवा र महिलाको सहभागिता सुनिश्चित गर्ने नीति पार्टीले लिएको जानकारी दिनुभयो । पार्टीभित्र युवा र महिलाका लागि थप अवसर सिर्जना गर्नुपर्नेमा पनि उहाँले जोडसमेत दिनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बसन्त भट्टराईले १४औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेक सबै पदाधिकारी तथा सदस्यलाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने इतर समूहको माग विधानअनुसार सम्भव नभएको धारणा राख्नुभयो । झापामा क्रियाशील सदस्यता अध्यावधिक कार्य प्रभावकारी रूपमा सम्पन्न भएको उल्लेख गर्दै उहाँले डिजिटल प्रणालीलाई सफल बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य राजीव ढुङ्गानाले संगठनको आधार क्रियाशील सदस्य भएकाले महाधिवेशन प्रतिनिधि बन्ने स्वार्थले सदस्यता वितरण नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्लामा २२ हजार १७७ जनाको क्रियाशील सदस्यता अध्यावधिक भएको जानकारी दिँदै यस अभियानमा खटिएका वडा समितिसहित सबै नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्नुभयो ।


